चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

अनसनरत डा. केसी थप उपचारका लागि काठमाडौं जान तयार



धनगढी । सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा। गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ ।

अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।

सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए । उनले भने, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज लैजान्छौं ।’ उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् ।

समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे उनी २०औं पटक अनसनमा बसेका हुन् । उनले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड लिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३३ बजे