माघ १२, २०८१ शनिबार Sat Jan 25 2025

युवा अधिकारकर्मी कमल सुवेदीद्वारा दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको संघ र प्रदेश निर्वाचनमा युवा अधिकारकर्मी कमल सुवेदीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले दाङको क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेवारी दिने घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेवारी दिएका सुवेदी राष्ट्रिय युवा गैसस महासंघ नेपालको संस्थापक केन्द्रीय सदस्य एवं सामुदायिक रेडियो हापुरेका संस्थापक अध्यक्ष हुन् ।

उनकी आमाको स्मृतिमा स्थापित विष्णुदेवी फाउण्डेशनले दाङ जिल्लामा ऐम्बुलेन्स सञ्चालन र विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक छात्रबृत्ति प्रदान गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशात्रमा स्नातोकोत्तर गरेका सुबेदीले सेन्ट फ्रान्सिस जेभियर युर्निभरसिटी क्यानडाबाट डेभलप्मेन्ट लिडरसिप कोर्समा डिप्लोमा गरेका छन् ।

उनले युवा उद्यमशिलता, रोजगारी, दिगो विकास, जैविक विविधता, जलवायु परिर्वतन एवं वातावरण संरक्षण तथा विपद् व्यवस्थापन मुद्दामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएका छन् । राज्यका नीतिनिर्माण एवं नेतृत्व तहमा युवाहरुको अर्थपूर्ण एवं सार्थक सहभागिता सुनिश्चित हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्न राजनीतिमा होमिएको सुवेदी बताउछन् । जनता समक्ष सुवेदीको यस्तो आह्वान छ । उनले आफ्नो उम्मेदवारीका बारेमा यसरी प्रतिवद्धता प्रकट गरेका छन् ।

मेरो उम्मेदवारी किन ?
आदरणीय आमाबुबा, दाजुभाइ, दिदिबहीनी तथा युवा साथीहरूमा हार्दिक नमस्कार
म एक आम युवा, युवाका मुद्दाहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विगत १५ वर्षदेखि निरन्तर बहस पैरवी गर्दै आएको छु । राज्यका हरेक नीतिनिर्माण र नेतृत्व तहमा युवाको सार्थक एवं अर्थपूर्ण सहभागिता हुनुपर्दछ भन्ने मान्यतालाई स्थापित गर्न आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा म उम्मेदवारी दिँदै छु ।

म जहिले पनि समाज रूपान्तरणको सारथी भएँ । अन्याय र अत्याचारको विरुद्धमा निरन्तर लेख्दै र बोल्दै आएँ । अभाव र असमानतामा बाँचेको हाम्रो समाजलाई केही मलमपट्टी लगाउने काम गरेँ । समाजसेवामार्फत जनताको सुखदुःखको सारथी भएँ र अब राजनीतिमार्फत जनताकै सेवामा समर्पित हुन चाहन्छु । नदी सफा गर्न मुहानबाटै सफा गर्नुपर्छ भन्ने मान्यताअनुरूप प्रदूषित राजनीतिलाई शुद्दीकरण गर्न म राजनीतिमा आएको हुँ ।

राजनीतिक दलले व्यवस्था त फेरे तर जनताको अवस्था भने सधैँ उस्तै रह्यो । लाखौँ जनताको परिश्रम, रगत र पसिनाले ल्याएको लोकतान्त्रिक गणतन्त्रबाट सीमित व्यक्ति पक्कै लाभान्वित भए तर आम नागरिकको अवस्था भने झन्–झन् गरिबीको अन्धकातिर धकेलिँदै गयो । धनी झन् झन् धनी र जनता दिनानुदिन गरिब हुने स्थिति आयो । राजनीतिको आपराधीकरण र अपराधको राजनीतिकरण मौलाउँदै गयो ।

देशमा कुनै अवसर नपाएर युवा विदेशिन बाध्य भए । हिजोसम्म मतदातासँग छनौटको कुनै विकल्प थिएन, तर आज त्यो विकल्प छ । देशभरबाट भिजन भएका, नेतृत्व गर्न सक्ने सक्षम र जागरुक युवा पुस्ता राजनीतिमा होमिएका छन् ।

तिनीहरूलाई एक पटक अवसर दिएर देशको अवस्था परिवर्तनमा योगदान दिनुको अब विकल्प छैन । दशकौँदेखि हाम्रो भावना र अपेक्षालाई आश्वासनको चारो छरेर, हाम्रो मताधिकारको धज्जी उडाइरहेकाहरूलाई अब भने मतदाताले जबाफ दिने उपयुक्त समय आएको छ, त्यसैले अबको प्रतिनिधि सभालाई सक्षम र इमान्दारहरूको सभा बनाउन हरेक जनताले योगदान दिनु जरुरी छ ।

वर्षौँदेखि उही दल र नेतालाई विश्वास गरेर सास्ती भोकेका हामीले यो पटक नयाँ र सक्षमलाई अवसर दिएर नयाँ इतिहास कोर्नुपर्ने छ । तपाईं भोट बदल्नुहोस्, हामी अवस्था बदल्छौँ । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी र पूर्वाधार विकास मेरा प्राथामिकता हुन् । दाङ जिल्लाको समग्र विकासका लागि हाम्रा एजेन्डा छन् । तपाईंहरूको सुझावलाई समेटेर हामी हाम्रा प्रतिवद्धताहरू चाँडै सार्वजनिक गर्दै छौँ । तपाईंहरूले दिनुभएको माया, सद्भाव र विश्वास नै मेरा सम्पति हुन् ।

म तपाईंहरूको आशा र भरोसा डगमगाउन दिने छैन । म दृढताका साथ यो वाचा गर्दछु । कुनै पनि प्रणाली सुधार गर्न सक्षम र इमान्दार व्यक्ति सो प्रणालीको हिस्सा हुनै पर्छ । म त्यो हिस्सा बन्न आफ्नो उम्मेदवारी दिँदै छु । यहाँहरूको साथ र मायाको उच्च सम्मान गर्दै दाङको विकासमा आफूलाई समर्पित गर्ने प्रतिबद्दता व्यक्त गर्दछु । म दाङको छोरालाई तपाईंहरूको हौसला र माया चाहिएको छ ।

परिवर्तन हाम्रै पालामा सम्भव छ । हामी परिवर्तनगामी शक्ति मिलेर जानुको बिकल्प छैन । लामो छलफल र संवाद पछि मैले राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत आफ्नो उम्मेदवारी एवम् दावेदारी प्रस्तुत गरेको छु ।
मङ्सिर –४ स्वतन्त्र पार्टी सरकार !! धन्यवाद ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ४५ बजे