कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

हाम्रो धरातल किन कमजोर भयो समीक्षा गरौँ : अध्यक्ष रेग्मी



काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिकलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिएका छन् ।

आठौँ संविधान दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिएका छन् । सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, ‘आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ । अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी छ ।’

उनले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष रेग्मीले सन्देशभा भनेका छन्, ‘संविधान दिवस मनाउनुको सार्थकता संविधान अनकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ०५ बजे