चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दोलखाका कांग्रेस नेताहरु आ–आफ्नै दुनो सोझ्याउने दाउमा



काठमाडौं । गत निर्वाचनमा नेकपा एमालेसँग ३०औं हजार मतान्तरले पछाडि परेका नेपाली कांग्रेस दोलखाका नेताहरु गठवन्धन इमानदार भएमा चुनाव राम्रोसँग जितिनेमा ढुक्क देखिन्छन् । यतिबेला सबै नेताहरु आ–आफ्नै दुनो सोज्याउन शीर्ष नेताहरुको घरदैलो चाहारिरहेका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नबनाएको झोकमा फन्कीएका नेताहरु पुनः मन्त्री बनाइदिने वचन पाएमा वा पार्टीको कोषाध्यक्ष बनाउने वचन पाएमा आफैं उम्मेदवार बन्ने सम्भावना त्यत्तिकै छ ।

यदि सो नभएमा संघ समाजवादीलाई सुम्पिएर प्रदेश ‘ख’ मा गगन थापाका निकट मानिने पत्रकार अजयबाबु सिवाकोटीलाई टिकट दिलाउने र शेर्पा जातिका आफ्ना केही मान्छेलाई समानुपातिकमा छिराएर आफ्नो भावी राजनीति सुरक्षित राख्ने दाउमा लागिपरेका छन् ।

अघिल्लो पटक लज्जास्पद हार व्यहोरेका रुद्रबहादुर खड्का जिल्ला अधिवेशनको बदला लिन जिपछिरिङ लामालाई छेक्न न्वारनदेखि बल निकालेर लागेका छन् । संघ दोलखा कांग्रेसको भागमा परेमा नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेलाई अगाडि वढाउने नभए माओवादीको भागमा पार्ने र प्रदेश २ वटामा तारा खड्का र प्रभुराम श्रेष्टलाई टिकट दिलाउने व्यापार पनि यतिबेला गरिरहेका छन् ।

गणतन्त्रभन्दा पहिला ३÷३ पटक टिकट पाएर तिनै पटक लज्जास्पद हार व्यहोरेका अर्का नेता तारा कोइराला संघ मा टिकट लिन रातदिन नभनी दौडिरहेका छन् । संघ नपाए प्रदेश ‘क’ मा भएपनि टिकट हत्याउने झिंगे दाउमा लागेको देखिन्छ ।

त्यसैगरी ‘साँढेको झर्लार..खाउला भनेझैं’ लामा नउठेमा केन्द्रीय पहुँचका आधारमा संघको टिकट पाउनुपर्छ भन्दै भारतदेखि नेपालसम्म कुदाकुद गरिरहेका छन् । त्यो पनि नपाएमा प्रदेशको भएपनि टिकट लिएर आफ्नो शाख जोगाउने प्रयासमा लागेका छन् । त्यस्तै कम्युनिस्ट नेता कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको चरित्र उदाङ्गो पारेर एकाएक चर्चामा आएका पूर्व पत्रकार एवं केन्द्रीय सदस्य संध समाजवादीलाई पारेर आफू प्रदेश ‘ख’ को टिकट लिने दाउमा गगन थापा र लामालाई कन्याई रहेका छन् ।

स्पष्ट बेन्द्रीय लाईन नभएका पार्टी सभापति वर्मा लामा संघ माओवादीको भागमा पारेर ‘ख’ समाजवादीलाई दिने र प्रदेश ‘क’ को टिकट आफू लिने, समानुपातिकमा कोही पैसावालालाई पारेर उसकै खर्चमा चुनाव लड्ने दाउमा देखिन्छन् । देउवा लाइनमा देवी न्यौपाने पछिको उत्तराधिकारी सम्झने अघिल्लो निर्वाचनमा प्रदेश ‘ख’ मा पराजित नेता केशव चौलागाईं कांग्रेसलाई संघ र एउटा प्रदेश दिनुपर्छ भनेर लागेका छन् ।

संघमा जीपछिरिङ लामा लढेमा उनकै चेपमा प्रदेश ‘ख’ आफूले पाउने र चुनाव जित्ने भन्ने दाउमा पूर्व प्रजातान्त्रिक नेताहरु गुहारिरहेका छन् । त्यसैगरी प्रदेश ‘क’ बाट शिफारिसमा परेका भुवन के.सी साढे जुधाएर प्रदेश ‘क’ को टिकट हात पार्न व्यापक लागिपरेका छन् । त्यसको लागि विभिन्न सञ्चारमाध्यमको प्रयोग गरी झिक्राले मुढा सल्काउने दाउमा देखिन्छन् ।

त्यसैगरी पूर्व विद्यार्थी नेत्रृ तथा महिला नेतृ विनिता काफ्ले केन्द्रीय नेतासँगको चिनजानको फाइदा उठाउँदै प्रदेशको समानुपातिक सिट हात पार्न दौडधुप गरिरहेकी छन् । ३० औं हजार मतान्तरले चुनाव हारेका दोलखा कांग्रेसका नेताहरुले कसैको अस्तित्व स्वकार गर्न सकिरहेका छैनन् । कांग्रेसभित्रको आन्तरिक कचिङ्गल झिनाझप्टिले त्यसको फाइदा एमालेले उठाउने सम्भावना प्रवल देखिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : १० बजे