चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

नागरिकता विधेयकबारे डा. भट्टराईको प्रश्न : आमा भएपछि सन्तानको बाबु किन खोज्ने ?



काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाल राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलाको अपमान गरेको दाबी गरेका छन् । उनले आमाको नामबाट निशर्त नागरिकता दिने व्यवस्था राख्नुपर्ने बताए ।

प्रतिनिधिसभाको कार्यकाल सकिने अन्तिम दिनको बैठकमा भाग लिँदै डा. भट्टराईले नागरिकता विधेयकप्रति असन्तुष्टि जनाएका हुन् । उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिनुपर्ने वकालतसमेत गरे ।

‘हामीले पारित गरेको विधेयकमा महिलालाई संविधानिक ढंगले नै विभेद गर्न मिल्छ ? आमाको नामबाट नागरिकता दिँदा शर्त राख्न आवश्यक छ ? अत्यन्त अपमानित ढंगले महिलाले आफ्नो सन्तानको बाउको परिचय नखुलेको स्वघोषणा गर्न लगाउनु मिल्ने कुरा हो ? आमालाई थाहा हुँदैन सन्तानको बाबु को हो भन्ने ? आमाले जन्म दिएपछि आमाको नामबाट निशर्त नागरिकता दिनुपर्दैन ? त्यहाँ बाबुको आवश्यकता किन पर्यो ?’ डा. भट्टराईले भने ।

वैवाहिक अंगिकृतमा पनि छोरा र छोरीलाई समान व्यवहार गर्नुपर्ने डा. भट्टराईको भनाइ छ । ‘मैले कुरा गर्दा अन्यथा अर्थ लाग्ला, छोरा र छोरीका दम्पत्तिलाई नागरिकता दिँदा समान व्यवहार गर्नु पर्छ कि पर्दैनथ्यो ?’, उनले प्रश्न गरे । डा. भट्टराईले नागरिकताका केही समस्याहरुको समाधान गरेको भन्दै राष्ट्रपतिबाट तुरुन्तै पारित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : १६ बजे