बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

कांग्रेसले सिफारिस गरेका पत्रकारलाई उम्मेदवार बनाउन प्रेस युनियनद्वारा पहल



काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ ।

प्रेस युनियनले आसन्न मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनमा आबद्ध पत्रकारलाई सांसद बनाउन पहल गर्ने बताइएको छ ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसदमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको पनि शिर उचो हुने बताएका छन् ।

‘युनियनमा आबद्ध पत्रकारलाई संसदमा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ’, उनले थप जोड दिए ।
युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसदमा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सजिलो हुने बताएका छन् । वाग्ले तनहुँ क्षेत्र नं १ प्रदेश ‘क’ बाट समानुपातिकतर्फ सिफारिस भएका छन् ।

युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने औल्याएका छन् ।

पोखरेल सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिसमा परेका छन् ।
युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस भएका छन् ।

युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश ‘ख’ बाट प्रत्यक्षतर्फ, निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिसमा परेकी छन् ।

यस्तै, युनियनका पूर्वसचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् भने युनियनका नेता एवम् नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् ।

यस्तै, युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस भएका छन् ।

यसरी देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ५ : १२ बजे