चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

मदन पुरस्कार विजेता लम्साल सम्मानित



धादिङ । धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा। नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि आज धादिङमा सम्मान गरिएको छ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ र नेपाल प्रेस युनियन धादिङको आयोजनामा उनलाई नागरिक सम्मान गरिएको हो ।

गृहजिल्लाको सम्मान कार्यक्रममा महाकाव्य रचनाकार लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताए । उनले मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाई सम्बोधन गरेको बताए ।

लम्साललाई धादिङबँेसी बजारको चोकचोकमा बजारवासीले खादा लगाएर सम्मान गरेका थिए । टोल सुधार समितिका पदाधिकारी, सदरमुकाम आसपासका विद्यालय किवो बोर्डिङ, एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, नीलकण्ठ मावि, नीलकण्ठ क्याम्पस, चिल्ड्रेनपार्क मावि, बालमन्दिर मावि, धादिङ बोर्डिङलगायतका विद्यालय र नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडा कार्यालयले सम्मान गरेको थियो ।

लम्सालद्वारा लिखित महाकाव्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली साहित्य जगत्मा मदन पुरस्कारलाई उच्च सम्मानका रूपमा लिइन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : ०८ बजे