चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

काठमाडौं महानगरपालिकाको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ



काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ ।

कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट उनीलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसक्नुभएका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।

त्यस्तै भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिनुभएको बताइएको छ । यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन् ।

उत्कृष्ट कार्यसम्पादनवापत उनले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने पदक पाएका छन् । यस्तै विशेष सेवा पदकबाट सम्मानित भइसकेका छन् । श्रेष्ठको नियुक्तसँगै कामपाले महानगरको ट्राफिक व्यवस्थापनका क्षेत्रमा थप सहयोग पुग्ने आशा गरेको छ ।

त्यस्तै महानगरले शिक्षा सल्लाहकारमा रेशु अर्याललाई नियुक्त गरेको छ । उनलाई पनि प्रमुखस्तरीय निर्णयबाट नियुक्त गरिएको हो । अर्यालले सिङ्गापुरको नेशनल इन्स्टिच्युट अफ एजुकेशनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् ।

उनले टिच फर नेपालको पाँच वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छन्। अहिले अर्याल नेतृत्व परिषद्को सदस्य छन् । सार्वजनिक र सामुदायिक विद्यालयको विकास र सवलीकरणका लागि अर्यालको योगदान रहने अपेक्षा गरिइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ३६ बजे