बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ



कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले सामूहिक बलात्कार गरेका छन् । इलाका प्रहरी कार्यालय सुखडले दिएको जानकारी अनुसार एक युवकले साने काम छ भनेर एकान्तमा लगेको र अन्यलाई पनि बोलाएर ४ जनाको समूहले ती किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।

किशोरीलाई सँगै लिएर गएका युवकले जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सानो काम छ भनेर लिएर गएको र त्यहाँ आफूलाई केही खुवाएर सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई प्रहरीलाई बयान दिएकी छन् । २१ गते राति किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।

बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आएर साथीको घरमा गएको र २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न नसकेको पाइएको प्रहरीको भनाइ रहेको छ ।

२३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीसँग किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको प्रहरीलाई भनिन् । प्रहरीले त्यस लगत्तै घटनामा संलग्नहरूको खोजी सुरु गरेको थियो ।

अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको पनि खोजी भइरहेको समाचार प्राप्त भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ४५ बजे