काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शनिबारदेखि भदौ २७ गते सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो ।
बैठकले तीन दिन नै नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रेसलाई जानकारी दिए ।
संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएकोप्रति सरकारले दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।