बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

इजीवे ड्राइभिङ सेन्टरबाट ५ नक्कली परीक्षार्थी पक्राउ



भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपलिका वडा नं ५ राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य व्यक्तिहरुको परीक्षा दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका ५ जनाको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका ४ घर भइ हाल तीनकुने काठमाडौँ बस्ने वर्ष २० कै मनिष लामिछाने, सिन्धुली दुधौली नगरपालिका ११ टाँडी घर भई हाल चाबहिल काठमाडौँ बस्ने वर्ष २० का मनिष श्रेष्ठ, कालिकोट महाबई गाउँंपालिका १ घर भइ हालकटुञ्जे भक्तपुर वस्ने वर्ष २४ का ईन्द्रबहादुर शाही, सिन्धुली दुधौली नगरपालिका १४ घर हुने वर्ष २१ का टुल्कु सिं तामाङ र गोरखा भीमसेनस्थान गाउपालिका १ घर हुने वर्ष २२ का राजकुमार श्रीमल छन् ।

इजीवे ट्रायल सेन्टरमा नक्कली नागरिकता र प्रवेशपत्र बनाई लाइसेन्सको परीक्षा दिने कार्य उनीहरुले लामो समयदेखि गर्दैआएका थिए । भक्तपुरको जगाती यातायात कार्यालयको ट्रायल इजी वे ट्रायल सेन्टरमा हुँदैआएको छ । विगत ५ बर्षदेखि यातायात कार्यालयले इजी वेमा ट्रायल गराउँदैआएको छ । जुन ट्रायल सेन्टरमा विदेशमा बस्ने नेपालीका नाममा यसैगरी नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाई लाइसेन्स निकालेबापत २ लाख घुस लिने गरिएको छ ।

इजी वे ट्रायल सेन्टरका संचालक जोन भन्ने निर्भयबाबु प्रसाईले एमाले नेता महेश बस्नेतको आडमा यातायात कार्यालयका प्रमुखसँग मिलेर लाइसेन्सको परीक्षामा नक्कली परीक्षार्थीको ब्यवस्था गर्दैआएको प्रहरीले ५ जना पक्राउ गरेबाट पुष्टि भएको छ । यसअघि पनि उक्त ट्रायल सेन्टरबाट पटक पटक नक्कली परीक्षार्थी पक्राउ परिसकेका छन् । यो पटक ५ जना पक्राउ परेपछि उक्त ट्रायल सेन्टरको गैरकानुनी धन्दा छताछुल्ल हुन पुगेको छ ।

इजीवे ड्राइभिङ सेन्टरका संचालक प्रसाई चेक बाउन्स मुद्दामा यही हप्ता पक्राउ परी २ दिन प्रहरीको कष्टडीमा बसी छुटेका छन् । अदालतमा मुद्दा परेपछि उनले लिएको पैसा तिरेपछि उनी छुटेका ह्ुन् । उनले आफ्नै हजुरबुबा नाता पर्नेलाई ४० लाखको चेक दिएका थिए, जुन बाउन्स भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ३६ बजे