बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

भुरुङ तातोपानीमा सडक बत्ती जडान



बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(२ भूरुङ तातोपानी बजारमा सीसी टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सीसी टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ ।

बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिए । उनका अनुसार, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो ।

बजारमा जोडिएका क्यामेराको रेखदेखको जिम्मा भने इलाका प्रहरी चौकी भुरुङतातोपनीको जिम्मा लगाइएको छ । प्राकृतिक उपचार स्थल र पर्यटकको थकान मेटाउने थलोको रुपमा परिचित तातोपानी कुण्डमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई ध्यानमा राखि बजार क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसी क्यामेराबाट ठूलो मद्दत पुग्ने प्रहरीले जनाएको छ । बेनी(जोमसोम सडकखण्ड र अन्नपूर्ण पदयात्राले समेटिएको भुरुङ तातोपानीमा अत्यधिक पर्यटकीय गतिविधि हुने गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : २६ बजे