चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

श्रम मन्त्रीलाई लक्षित गरी सञ्चारमाध्यममा आएका समाचारप्रति सचिवालयको ध्यानाकर्षण



काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको जन्मदिन मनाउन पाँचतारे होटलमा गएको भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

श्रम मन्त्रीलाई एभरेस्ट स्प्रिङ वाटरको उद्घाटन कार्यक्रममा लागि निम्तो आएको र त्यसै दिन एभरेस्ट स्प्रिङ वाटरका सञ्चालक सुजन आचार्यको पनि जन्मदिन परेको बारेमा पूर्व सूचना नभएको श्रम मन्त्रीका प्रेस संयोजक रमा खड्काले बताए ।

‘मन्त्रीज्यू भदौ १९ गते होटल याक एण्ड यतिमा आयोजित एभरेस्ट स्प्रिङ वाटरको ओपनिङ कार्यक्रममा जानुभएको हो, त्यसै दिन सञ्चालकको जन्म दिन पनि रहेछ’ प्रेस संयोजक खड्काले भने, ‘यसबारेमा पूर्व जानकारी थिएन, त्यही संस्थाको कार्यक्रम सञ्चालकको जन्मदिन पनि रहेछ अस्वीकार गर्ने स्थिति भएन ।’

श्रम मन्त्रीको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चालक सुजन आर्चायसँग मन्त्रीको कुनै व्यक्तिगत सम्बन्ध नभएको र पानीको उद्घाटन कार्यक्रममा जाँदा जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नभएको उल्लेख गरेको छ ।

यसका साथै सञ्चालक आचार्यको विगतका क्रियाकलाप र पृष्ठभूमिबारेमा समेत जानकारी नभएकाले कार्यक्रममा मन्त्री सहभागी भएको पनि सचिवालयले जनाएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ ‘केही सञ्चार माध्यमहरूमा मन्त्री र सुजन आचार्यको नाम जोडेर प्रकाशित समाचारप्रति कुनै सत्यता छैन र त्यस्ता अनुचित कार्यको खेद व्यक्त गर्दै मन्त्रीको ती व्यक्तिसँग कुनै पनि व्यक्तिगत सम्बन्ध नरहेको र विगतका क्रियाकलाप वा पृष्ठभूमिबारे समेत पूर्व जानकारी नभएको अवगत गराइन्छ ।’

मङ्गलवार विभिन्न सञ्चारमाध्यममा श्रम मन्त्री कुँवरले हिरा लुटपाट र एक्सटोर्सनका आरोपीको जन्मदिनको पार्टीको अतिथि भएर युवा व्यवसायी भन्दै प्रशंसा गरेको भनेर समाचार प्रकाशित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : १४ बजे