श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

जनकपुर भन्सारको राजस्व संकलन घट्यो



जनकपुर । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।
सो कार्यालयले आव २०७८र७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८र७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७र७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७र७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार सङ्कलन भएको थियो । भन्सार कार्यालयका अनुसार आव २०७७र७८ मा भन्सार महसुलतर्फ रु २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्कतर्फ रु ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ रु १८ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो ।

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सीमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए ।

जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : १७ बजे