बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता



धनगढी । सुदूरपश्चिम प्रदेशमा ३७ हजार २६१ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य भएको थियो । असार १ गतेबाट सुरु भएको सो कार्य प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि रोकिएको छ ।

स्थानीय तहको चुनावको ताका यो प्रदेशमा कुल १६ लाख ३२ हजार १५० मतदाता रहेका थिए । अब थपिएका मतदातासहित प्रदेशको कुल मतदाता सङ्ख्या १६ लाख ६९ हजार ४११ पुगेको छ ।

यद्यपि, स्थानीय तहमा मतदाता नामावलीमा दाबी विरोध पश्चातमात्रै थपछिको वास्तविक तथ्याङ्क यकिन हुने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । ‘त्रुटि सच्याउने र दोहोरिएको हटाउने कार्यपछिमात्रै कुल मतदाताको वास्तविक तथ्याङ्क थाहा हुन्छ’, उहाँले भन्नुभयो ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा ११ हजार ४३०, कञ्चनपुरमा नौ हजार ८२८ मतदाता थपिएका छन् । यस्तै, दार्चुलामा एक हजार ६६४, बैतडीमा दुई हजार ८०६, डडेल्धुरामा दुई हजार २५८ मतदाता थपिएका जनाइएको छ । यसैगरी, बझाङमा एक हजार ६५९ , डोटीमा दुई हजार १७२, अछाममा चार हजार ८० र बाजुरामा सबैभन्दा कम एक हजार ३६४ जना नयाँ मतादाता थपिएका छन् ।

यसअघि, स्थानीय तहको निर्वाचनताका दार्चुलाको जम्मा मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको थियो । अब कुल मतदाता सङ्ख्या ८९ हजार ८९४ पुगेको छ । यस्तै, बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता सङ्ख्या रहेकोमा थपपछि अब एक लाख ५१ हजार ४१२ पुगेको छ ।

यस्तै, डडेल्धुराको मतदाता सङ्ख्या ९० हजार ११९ रहेको थियो । थपिएपछिको सङ्ख्या ९२ हजार ३७७ पुगेको छ । बझाङको मतदाता सङ्ख्या एक लाख २२ हजार १३७ रहेकोमा अब एक लाख २३ हजार ७९६ पुगेको छ । डोटीको मतदाता सङ्ख्या यसअघि, एक लाख २३ हजार ५५४ रहेकोमा थपपछि एक लाख ४५ हजार ३०६ पुगेको छ ।

यसैगरी, अछामको मतदाता सङ्ख्या एक लाख ५६ हजार २८० रहेको थियो । थपिएपछि सो जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ६० हजार ३६० पुगेको छ ।

यस्तै, प्रदेशको हिमाली जिल्ला बाजुरामा ८२ हजार ६९२ मतदाता थिए । नयाँ थपपछि सो जिल्लाको कुल मतदाता सङ्ख्या ८४ हजार ५६ पुगेको छ । कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ जना मतदाता थिए । थपिएपछि अब सो जिल्लाको मतदाता सङ्ख्या तीन लाख पाँच हजार १८२ पुगेको छ ।

यस्तै, यो प्रदेशमा सबैभन्दा बढी पाँच लाख २५ हजार १२५ जना मतदाता कैलालीमा थिए । नयाँ मतदाता थपपछि अब यो जिल्लाको कुल मतदाता सङ्ख्या पाँच लाख ३६ हजार ५५५ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : २६ बजे