पुस १५, २०८१ सोमबार Mon Dec 30 2024

हेटौँडामा पनि अवैध संरचनामाथि डोजर चलाउन मेयर लामाको निर्देशन



काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा पनि अवैध संरचनामा डोजर चलाइने भएको छ । उपमहानगरले कानुन विपरीत बनेका संरचना हटाउने तयारी गरेको हो ।

नक्सा पास नगरी बनाइएका संरचना र पार्किङका लागि पास भएका स्थानमा सञ्चालित व्यवसाय हटाउन उपमहानगरले ३५ दिने सूचना जारी गर्ने तयारी गरेको छ । हेटौँडाकी मेयर मिनाकुमारी लामाले ३५ दिने सूचना जारी गर्न निर्देशन दिइसकेकी छन् ।

लामाले अवैध संरचना हटाउने सम्बन्धमा सूचना जारी गर्न निर्देशन दिइसकेको भन्दै सम्भवतः आजै सूचना टाँस गरिने बताइन् । लामाले अवैध संरचना हटाउने, फुटपाथ खाली गर्ने र पार्किङका लागि तोकिएको स्थानमा सञ्चालित व्यवसाय हटाउने तयारी उपमहानगरले यसअघि नै गरेको बताइन् । ‘हामीले पहिल्यै अवैध संरचनाहरू हटाउने तयारीअनुसार लगत संकलन गरिरहेका थियौं । अब सूचना निकालेर काम गर्छौं,’ लामाले भनिन् ।

सूचना जारी भएपछि पनि अवैध संरचना र फुटपाथ कब्जा गरेर चलिरहेका व्यवसाय नहटाए उपमहानगरले एक्सन लिने लामाको भनाइ छ । उनले कानुन मिच्ने काम कसैले पनि गर्न नपाइने बताइन् । हेटौँडामा नक्सा पासबिनै बनेका संरचना थुप्रै छन् । हेटौँडा–४, स्थित भुटनदेवी माध्यमिक विद्यालयले समेत नक्सा पास नै नगरी १० वर्षदेखि सटर निर्माण गरेर भाडामा लगाउँदै आएको छ । पैदलयात्रु हिँड्ने फुटपाथमा व्यवसाय चलिरहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : १२ बजे