बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

निहारिकाले एक हजार थपेर करिश्मालाई सहयोग रकम फिर्ता गरिन्



काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छन् । आफ्नो चरित्रहत्या गर्ने गरी आरोपितसँगको निजी तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै निहारिकाले करिश्माले केही समयअघि सहयोगस्वरुप दिएको रकम फिर्ता गरेकी हुन् ।

निहारिका शुक्रबार करिश्माको घरमा पुगेकी थिइन् । तर, करिश्मा घरमा थिइनन् । घरनजिकै तीज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले एक हजार थपेर फिर्ता गरेकी छन् । निहारिकालाई करिश्माले २० हजार रकम दिएकामा एक हजार थपेर २१ हजार रुपैयाँ दिएकी छन् ।

न्यायको माग्दै नाबालक छोरासहित निरन्तर लडिरहेकी निहारिकालाई अनशनस्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एडप्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन् । तर, त्यसको केही दिनपछि नै उनले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने बताएकी छन् ।

यसैबीच निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वरकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् । उनलाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको मधेस सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ४ : ०४ बजे