बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

कुन्दनले गरे बालेनको खुलेरै प्रशंसा !



नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले काठामाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरिरहेको कार्यको प्रशंसा गरेका छन् । राजधानीको अबैधानिक संरचना भत्काएर युवाहरुले नै मुलुक विकास गर्न सक्छ भन्ने उदाहरण प्रश्तु्त गरेको भन्दै काफ्लेले बालेनको खुलेर प्रशंसा गरेका हुन् ।

समाजिका सञ्जालमा उनले लेखिएको सामग्री जस्ताको तस्तै :
नेपालमा बिधिपद्धतीलाई धज्जी उडाउने र विभिन्न शक्तिको आडमा अकर्मण्यतालाई बढावा दिइने प्रचलनले जरा गाढेको अबस्थामा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरिरहेको कार्यको प्रशंसा गर्दछु । राष्ट्रिय भवन संहिताको मापदण्डअनुसार जसरी नक्सापास भएको छ त्यसैगरि घरसंरचना निर्माण गरिनुपर्छ ।

नक्सामा एउटा प्रयोजन खुलाई पास गरेर अर्को प्रयोजनमा प्रयोग गर्नु हुँदैन । काठमाडौंका कतिपय संरचनाहरुमा अवैधानिक रुपले प्रयोजन परिवर्तन गरेको देखिन्छ । यस्ता अवैधानिक प्रयोजनका संरचना हटाउन मेयर बालेनले गरेको साहसका लागि म धन्यवाद व्यक्त गर्दछु ।

अस्तव्यस्तताले काठमाडौंको शहरी कुरुपता थप्ने क्रम जारी रहँदा महानगरका पार्किङका लागि भनी अनुमती लिएका संरचनामा अन्य वन्दव्यापार चलाउनु अनाधिकृत कार्य हो । मापदण्ड परिपालना गर्नु हामी सबैको कर्तव्य तथा दायित्व हो । व्यबस्थित शहर निर्माणार्थ मेयर बालेनले गरिरहेको कार्य प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

‘केही गरौ’ र ‘मैले नै हो गर्नुपर्ने’ भन्ने हुटहुटि भएको युवा नेतृत्वमा पुग्दा आफ्नो हिम्मतपूर्वक कुशल कार्यसम्पादन गर्न सक्छ अनि उसले आफ्नो कार्यकारी क्षमतालाई इमानदारपुर्वक देखाउँछ भन्ने एउटा उदाहरण बन्ने संकेत बालेनमा देखिएको छ ।

यसैगरि, युवाहरुले नेतृत्वमा आफ्नो क्षमता र आँट देखाउनुपर्दछ । समुन्नत दोलखा साथै समुन्नत देश हाम्रै पालामा सम्भव छ भन्ने सङ्कल्प बोकेर हिँडेको व्यक्ती हुनुको नाताले समेत आम जनसमुदायलाई परिवर्तनका पक्षमा उभिइ एक भएर महानगर बनाउने, गाउँ बनाउने र देश बनाउने कुरामा लाग्न प्रेरित गर्दछु ।

जय नेपाल

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : २३ बजे