बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

जंगली हात्तीले दिएको तनाब, बस्तीमा पसेपछि रातभर जाग्रामको वाध्यता



सिन्धुली । कमलामाई नगरपालिका ९ र १० मा राति हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बसेका हुन् ।

कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरेको बताइन् ।

हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको छ। यो क्षेत्रमा हरेक वर्षको हिउँदमा जंगली हात्ती देखा पर्ने गरेका छन् । तर यो वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ। यसअघि पनि हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेका थिए ।

हात्ती निस्किएको खबर पाएसँगै प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको अवस्थाबारे अनुसन्धानपछि मात्र भन्न सकिने कार्यालयले बताएको छ ।

दिउँसोमा जंगली हात्ती नदेखिने र रातको समयमा हात्ती देखिँदा स्थानीयमा त्रास वर्षौँदेखि रहेको छ । हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्या समाधान गर्न स्थानीयले वर्षौँदेखि माग गर्दै आएका छन् । रासस

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ०५ बजे