चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सडक अभावका कारण कालीकोटका स्याउ बजार पुर्‍याउन समस्या



काठमाडौं । कालीकोटको स्याउ बजार पु-याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पु¥याउन समस्या भएको हो ।

बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ”, उनले भने,“भारी बोकेर कर्णाली राजमार्ग पु¥याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ ।”

कृषक शाहीले आफूले मात्र बर्सेनि ६०० क्विन्टल स्याउ फलाउने गरे पनि बजार पु¥याउन नसकिएका जति त्यतिकै खेर जाने गरेको जानकारी दिए । सधैँजसो भदौमा तयार हुने स्याउ बजार लैजान समस्या रहेको रास्कोट नगरपालिका–८ फुकोटका किसान पुष्पराज बरालले बताए । “बर्सेनि ३०० क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारको समस्याले अधिकांश स्याउ रुखमै कुहिने वा बस्तुलाई दिने गरेको छौँ ।” उनले भने,“हाम्रो स्याउ फल्ने ठाउँ सिप्टी र बिसाल्नी भन्ने लेकमा हो ।”

कृषक बरालले भने,“यहाँबाट बजारमा लैजानका लागि कम्तीमा एक दिन लाग्ने गरेको छ । कतिपय त बोकेर लैजाँदै बाटोमा नै बिग्रिने गरेको छ ।” किसानले उत्पादन गरेको स्याउ बिक्रीका लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । “किसानलाई ढुवानीमा अनुदान र कालीकोटको उत्पादन भएको हो भन्ने प्रमाणका लागि कार्टुन पनि दिने गरेका छौँ ।” उनले भने,“यहाँको स्याउ विशुद्ध प्राङ्गारिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन ।”

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ३३ बजे