चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

वीर अस्पतालमा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा बिरामीको दाँतै बेपत्ता : डा. भन्छन्, ‘अनावश्यक विषय बनाइयो’



काठमाडौं । वीर अस्पतालमा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउँदै गरेकी महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् ।

आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत भने चिकित्सकले लापरवाही नगरेको र अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना हुनसक्ने बताउँछन् ।

पित्तथैलीमा भएको पत्थरी शल्यक्रिया गरेर निकालिसकेको र अब दाँतको पनि उपचार गरिदिने वीर अस्पताल प्रशासनले जनाएको छ ।

वास्तवमा भएको के हो ?

नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिइन् ।

चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर, शल्यक्रिया गरेर फर्किंदा ओझाका अघिल्लो पंक्तिका तीनवटा दाँत थिएनन् ।

‘पित्तथैलीको अप्रेसन गर्दा बेहोस बनाउने क्रममा इन्टुबेसन (मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास फेराउने प्रक्रिया) गर्नुपर्ने हुन्छ,’ डा. बस्नेत भन्छन्, ‘त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्ने क्रममा यस्तो घटना भएको हो ।’

डा. बस्नेत यो घटनालाई ‘डिफिकल्टी इन्टुबेसन’ भएको बताउँछन्् । ‘इन्टुबेसन’ गर्नका लागि ‘ल्यारिङोस्कोपी’ गर्नुपर्ने हुन्छ । त्यो छिराउने क्रममा दाँत खुस्किएको रहेछ,’ डा. बस्नेत भन्छन् ।

‘कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने अन्य बिरामीलाई पनि थप जटिलताबाट जोगाउन खोज्दा यस्ता दुर्घटना हुन सक्छ । ल्यारिङोस्कोपी नगरेको भए बिरामीको ज्यान जान सक्थो’ डा. बस्नेतले भने । ‘जुनसुकै काम गर्दा जटिलता आउने अवस्था हुन्छ । यसलाई ठूलो इस्यू बनाएर सर्वसाधारणमा भ्रम फैलाउने काम
भयो ।’
वीर अस्पताललाई बदनाम गर्न र बिरामीलाई निजी अस्पतालमा लानको लागि पल्केका केही मान्छेले सामान्य घटनालाई अनावश्यक उचालेको डा. बस्नेतको ठम्याई छ । ‘बिरामीको ज्यान त गएको छैन नि । अप्रेशन बिग्रिएको छैन नि ?’ डा. बस्नेत प्रश्न गर्छन्, ‘तर, वीरलाई बदनाम गर्न बिरामी पक्षलाई उल्चाने काम भयो ।’

यस विषयमा आइतबार उपचारमा संलग्न चिकित्सकसँग थप छलफल गर्ने डा. बस्नेतले बताए । बिरामीको पत्थरी झिकिसकिएको र अब दाँतको पनि उपचार गरिदिने अस्पताल प्रशासनले बताएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ४९ बजे