बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

गिरीको विचारलाई अनुशरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरीको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताए । स्वर्गीय गिरीलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुग्नुभएका उनले नेपाली राजनीतिमा गिरी अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित भएको र उनको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरी नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताए । “प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उनको भावना आत्मासात् गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो”, उनले भने ,

कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरी भएको बताए । “पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरीको क्षमता थियो”, उनले भने ।नेता गिरीको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

गिरीप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुगेका छन् ।

यस्तै स्वर्गीय गिरीलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ ।भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरीको अस्पतालमै शनिबार राती ९स् ३० बजे निधन भएको हो ।

गिरीको पार्थिव शरिरलाई विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि रखिएकामा त्यसपछि दिउँसो २स्०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएकोे छ ।

पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : ०६ बजे