बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

चीनले रसुवागढी र तातोपानी नाका नखोल्दा दशैंका सामान बाटोमै अलपत्र, व्यापारीहरु चिन्तित



काठमाडौँ । नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका नखुल्दा दशैंका सामान बाटैमा अलपत्र परेका छन् ।
दशैंको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको हो । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।

चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उनको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उनको विश्वास छ ।

तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताएका छन् । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको उनले बताएका छन् ।

तातोपानी र रसुवागढी नाका बन्द भएका कारण दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेशिनरी सामान बाटोमै रोकिएका व्यापारीले बताएका छन् । तत्काल नाका नखुले दशैं बजार नै प्रभावित हुन सक्ने व्यापारीहरु बताउँछन् ।

कोरोनाका कारण चीनले तीन वर्ष अघिदेखि नै नाकामा कडाइ गर्न थालेको हो । कोरोना सङ्क्रमण कम भएपछि नाका आंशिक खुलेको थियो । फेरि चीनको तिब्बत क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै रसुवागढीमा साउन २१ गतेदेखि र तातोपानीमा २५ गतेदेखि नाका बन्द गरिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : २३ बजे