बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

११० फिट लामो केश बनाई किर्तीमानी कमाउन सफल महिला



क्लेरमोन्ट । अमेरिकाको फ्लोरिडा निवासी एक महिला आफ्नो लामो केशको कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।

विश्वकै सबैभन्दा लामो कपाल भएकी ६० वर्षीया आसा मन्डेलाको केशको लम्बाइ अहिले ११० फिट पुगेको छ । उनले सन् २००९ मा पहिलो पटक यसै विधामा गिनिज उपाधि जितेकी थिइन् । त्यतिबेला उनको केश १९ फिट ६ दशमलव ५ इन्च लामो थियो । क्लेरमोन्ट निवासी मन्डेलाले ४० वर्ष भन्दा लामो समय अघि ट्रिनिडाड एन्ड टोवागोबाट अमेरिका आएदेखि आफूले केश पाल्न सुरु गरेको जानकारी दिएकी छन् ।

उनले आफ्नो केशबारे रोचक कुरा यसरी बताउँछिन्, ‘मलाई केशलाई फुकाउनै नसकिने र कोर्नै नसक्ने गरी ड्रेडलक बनाउन मन पर्दैन । मैले आफ्नो केशलाई आफूलाई मनपर्ने तरिकाले चुल्ठो बनाउँछु । केश भुँइमा नलत्रियोेस् भन्ने हेतुले त्यसलाई एउटा कपडामा पोको पारी झुण्ड्याएर हिँड्छु । बेलुका सुत्दाखेरी यसलाई सानो बोरामा बाँधेर सँगै राखेर सुम्सुम्याउँदै कुरा गर्ने गर्छु । मेरो केशलाई निरन्तर लम्ब्याउने योजना छ ।’

पेशाले चुल्ठो सजाउने विशेषज्ञ तथा केन्याको नैरोबीबाट आएका मन्डेलाका पति इमान्युअल चेगेले प्रत्येक साता घण्टौं लगाएर उनको केशको स्याहार गर्दै आएका छन् ।

साताको एकचोटि उनको केश धोइदिने चेगेकाअनुसार त्यस कामका लागि छ बोटल स्याम्पु चाहिने तथा केश पूणर् रूपमा सुक्न दुई दिन लाग्ने गरेको छ । साथै मन्डेलाले जिन्दगीभरि आफूले केश नकाट्ने पनि बताएकी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ०५ बजे