बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं । कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा थप समस्या देखिएको छ । गिरीको स्वास्थ्यमा न्युमोनियाले ग्रस्त पारेपछि बिहीबारदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा सामान्य न्युमोनिया देखिएपछि गिरिलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सुरुमा स्वास्थ्य अवस्थामा सुधार भएको बताएको थियो । तर, अहिले उनको स्वास्थ्य स्थिति झन् बिग्रिइँदै गएको बताइएको छ ।

घाँटीको क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा उपचार भएको थियो । स्वरयन्त्रसँगै क्यान्सर देखिएपछि अप्रेसन गर्दा बोलिनै बन्द हुने भएकाले उनलाई किमो चलाएर उपचार गरिएको थियो । नयाँ दिल्लीको उपचारपछि गिरिको मुम्बईस्थित हिन्दुजा अहस्पतालमा ‘रेडिएसन’ उपचार भयो । त्यसबाट स्वास्थ्य अवस्थामा सुधार भएपछि गिरि नेपाल फर्किएका हुन् । अहिले गिरिको क्यान्सर पनि अन्यत्र सरेको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार बिहीबार नै गिरिको डायलासिस पनि भएको छ । त्यसबाट रगतमा सुधार देखिएको मेडिकल टिमले बताएपनि न्युमोनिया र क्यान्सरको दोहोरो आक्रमणका कारण उनको अवस्था थप कमजोर बन्दै गएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ३५ बजे