बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

बागमती नदीको २२ औं महोत्सव शनिबार, र्‍याफ्टिङसहितका गतिविधिबीच हुने



काठमाडौं । बागमती नदीको २२ औं महोत्सव भदौ ४ गते शनिबार हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउन बागमती नदी महोत्सवको आयोजना गरिंदै आएको हो ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा र्‍याफ्टिङसहितका गतिविधिसमेत गरिने भएको छ ।

महोत्सवको शनिबार बिहान ७ बजेदेखि कुपण्डोल, बागमती पुल, ललितपुरबाट जलयात्रा सुरु गरिने भएको छ ।

बागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको भन्दै संरक्षणको आवाज उठाउन थालिएको हो । विभिन्न सरकारी, गैरसरकारी, व्यापारिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना भइरहेको छ ।

सामाजिक तथा धार्मिक इतिहास बोकेको बागमतीको सुन्दर र महत्वपूर्ण नदी ढलमा परिणत भएको भन्दै अभियन्ताहरुले यो अभियान चलाउँदै आएका छन् ।

नाराका अध्यक्ष शिव अधिकारी र केन्द्रका अधयक्ष मेघ आलेले सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने बताएका छन् । यस अभियानका दौरान बागमतीमा र्‍याफ्टिङ हुनेछ । र्‍याफ्टिङको साथै सहभागीहरुले बागमती नदी सरसरफाई पनि गर्नेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ३० बजे