बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

सिन्धु जलेसाद्वारा सरावलमा आईकेयर सेन्टर स्थापना गर्ने तयारी



काठमाडौं । नवलपरासीको बर्दघाटमा चिसापानी अस्पताल स्थापना गर्न पहल गरेकी संविधान सभा सदस्य सिन्धु जलेसाले अहिले फेरि सरावलमा आईकेयर सेन्टर स्थापना गर्ने विषयमा लागिपरेकी छन् ।

आईकेयर सेन्टर स्थापना गर्दा त्यस क्षेत्रका आमनागरीहरुले सहज रुपमा सेवा लिन सक्ने स्थान र स्थानीयहरुले अपनत्व लिनसक्ने वातावरण भएको स्थान खोज्न जलेसाले सरावल गाउँ कार्यपालिका समक्ष आग्रह गरेकी छन् ।
शुरुमा आईकेयर सेन्टर स्थापना गरी त्यसलाई पछि आँखा अस्पतालका रुपमा विकास गर्नेगरी आफूले उक्त योजना अघि बढाएको उनले कार्यपालिका समक्ष जानकारी गराइन् ।

सो अवसरमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले सरावलको समग्र विकासका लागि सबैको आवश्यकता रहेकोले आफूहरुले सबैवाट सहयोग लिने बताएका थिए । उनीहरुले आईकेयर सेन्टर सरावलमा स्थापना गर्नसके निक्कै राम्रो हुने भन्दै आफूहरुले कार्यपालिका बैठकमा उक्त विषयमा गहन छलफल गरी स्थानको टुङ्गो लगाउनेसमेत बताए ।

सरावल गाउँपालिका साविकको तिलकपुर , मनरी , सरावल , बडहरादुबौलिया , रामपुर खडौना र भुजहवा गा.वि.स । मिलाएर सिंगोसरावल गाउँपालिका भएकाले साविकका सबै क्षेत्रहरुको पायक पर्ने स्थान अनुसार आईकेयर सेन्टर स्थापना गर्ने स्थानको खोजी गर्ने अध्यक्ष सुखाडी चौधरीले बताएका थिए ।

अध्यक्ष चौधरीले ७३.१९ वर्ग कि मि. मा फैलिएको सरावलका ४० हजार बढी मानिसहरुको स्वास्थ्यप्रति आफू निक्कै सजग भएकाले आँखा अस्पतालसम्म बन्ने पालिकाकै गौरवको आयोजनालाई सफल पार्न सम्पूर्ण कार्यपालिका सदस्यहरु लागि पर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : १० बजे