बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

६ वर्षीया बालिकाले गरिन् युद्धपीडित युक्रेनीहरूलाई सहयोग



लण्डन । एक ६ वर्षीया बालिकाको युद्धग्रस्त युक्रेनका परिवारहरूलाई सहयोग गर्ने सपना पूरा भएको छ । बेलायतको मिल्टन किनेस निवासी बालिका म्याडिसनले टेलिभिजनमा युक्रेन र रुसबीचको युद्धका दृष्यहरू देखेर आफू निकै विचलित भएको र आफूले एउटा च्यारिटी सुरु गर्न चाहेको बताएकी छन् ।

उड्डयन क्षेत्रमा कार्यरत आफ्ना पिता मार्क बेकरसँग मिलेर उनले ‘ह्यान्ड्स एक्रस दि स्काइज’ नामक सहयोग कार्यक्रम अघि सारेकी छन् । तिनीहरूबाट संकलन गरिएका खेलौना र अन्य आवश्यक वस्तुहरू भरिएको विमान बुल्गेरियास्थित युक्रेनी शरणार्थीहरूका लागि पठाइएको छ ।

युके एभियसन ग्रुप लिमिटेडका प्रमुख कार्यकारी अधिकारी बेकरले भनेका छन्, ‘हामी बाबुछोरी टेलिभिजनमा समाचार हेरिरहेका थियौँ । हामीले बमबारीबाट ध्वस्त भवनहरूबाट बालबालिकाहरू बहिर निस्किरहेको मार्मिक दृष्य देख्यौँ ।

मेडिसनले तत्कालै तिनीहरूका लागि के गर्न सकिन्छ त भन्ने सोच निकालिन् । त्यसको तीन चार महिनापछि हामीले सहयोग सामग्री लादिएको पहिलो विमानलाई ल्युटनबाट सोफियातर्फ उडाउन सफल भयौँ । म र उनकी आमा उनीप्रति गौरान्वित छौँ । उनले महत्वपूणर् उपलब्धि हासिल गरेकी छन् ।’

उनीहरूले विमानमार्फत बुल्गेरिया पठाएको कम्बल, बालबालिकाका खेलौना लगायत अन्य सामग्रीहरूलाई त्यहाँबाट स्थलमार्ग हुँदै युक्रेन पुर्‍याइने भएको छ । बेकरले आफैँले आर्थिक आवश्यकता जुटाउने गरेका ‘ह्यान्ड्स एक्रस दि स्काइज’ नामक एक दातृ संस्थाले विमान चार्टर गरिदिएको बताएका छन् ।

साथै बेकरले आफूहरूले अफ्रिका, सिरिया र अफगानिस्तान लगायत विश्वका अन्य मुलुकका युद्ध पीडित परिवारहरूलाई पनि यसरी नै मानवीय हवाइ सम्पर्कमार्फत सहयोग गर्न चाहेको बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४५ बजे