चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन



काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो । उहाँले गणतन्त्र स्थापनामा श्रमिक वर्गले पु¥याएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

“नेपाली श्रमिक वर्गले आफैँले लडेर ल्याएको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रमको अधिकारका साथै उचित पारिश्रमिक सुविधा सुनिश्चित गरेको छ । तर व्यावहारिक कार्यान्वयन नभइरहेको स्थितिमा श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबैखाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ ।

नेपालको संविधानमा प्रत्याभूत गरिएका सामाजिक सुरक्षा कोषको स्थापना, ट्रेड युनियन खोल्न पाउने अधिकार, स्वास्थ्योपचार, दुर्घटना बीमाजस्ता आम श्रमिक मजदुरहरूको हितमा जारी कार्यक्रम यथाशक्य चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विद्यमान श्रम सम्बन्ध र शोषणका रूप आर्थिक, सांस्कृतिक क्षेत्रमा आज पनि सामन्तवादका अवशेषहरुद्वारा शोषण र उत्पीडन कायमै रहेको जनाउँदै उहाँले त्यसको उन्मूलन आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ । “यसका लागि राज्यबाट देशभित्रै अधिकतम स्वरोजगारीका अवसर सिर्जना गर्नु र श्रमिकमैत्री नियम, कानुन निर्माण गर्नु र कार्यान्वयन गर्नु आजको आवश्यकता हो भन्ने मैले ठानेको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ०५ बजे