चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान



चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले ३ चैतमा पक्राउ गरी चितवन कारागार पठाएको हो ।

गुरुङ पक्राउ गर्नुलाई निकुञ्जले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।

१४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा थप दुईजना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ९ कात्तिक २०६२ मा निकुञ्जमा दायर भएको बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा निकुञ्जले चितवन प्रहरीको सहयोगमा गुरुङलाई भरतपुर महानगरपालिका(१ लिलाचोकबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०३ बजे