चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता



काठमाडौं । पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण ९आइई० अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो । वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने सम्भावित वातावरणीय प्रभावका पहिचान, सम्भावना र विश्लेषण गर्नेछ ।

प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने र यस कार्यले परियोजना वा अस्पताल क्षेत्र तथा यसको वरपरका समुदायलाई पर्यावरणीय स्रोत, सामाजिक–आर्थिक र स्वास्थ्य लाभमा सुधार पहुँच गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चार महिनाभित्र पूरा गर्नुपर्ने छ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालनको तयारी गरिरहेको ढकालले जानकारी दिनुभयो । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शय्याको अस्पतालको रूपमा प्रयोग गर्ने योजनास्वरूप विश्वविद्यालयले बोलपत्र आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ५१ बजे