श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

महोत्सवमा पाँच करोडको कारोबार



भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्तरुपमा आयोजना गरेको ११ दिने बृहत् छैठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आज अन्तिम दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ ।

गत चैत २४ गतेदेखि भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी जग्गामा सुरु भएको महोत्सवमा ११ दिनमा तीन लाखले अवलोकन गरेको जानकारी दिँदै संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सव अवधिभर उक्त कारोबार गरेको बताए ।

वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको र त्यसदिनयता दैनिक ३५ हजारदेखि ४० हजारले अवलोकन गरेको उनको भनाई छ ।

सस्तो र गुणस्तरीय दैनिक उपभोग्य सामान एकैथलोमा पाउने भएपछि महोत्सवमा उपभोक्ताको भीड लागेको जनाउँदै उनले लत्ताकपडा, जुत्ता र अन्य घरासी सामानमा उपभोक्ताको आकर्षण बढेको र त्यस्ता सामानको कारोबार बढी भएको जनाए ।

महोत्सवमा दैनिक उपभोग्य खाद्यान्नका सामग्री, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटो मोबाइल, विद्युतीय मेशिन कृषि औजार, मोबाइल तथा विद्युतीय सामानको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी, एशियाकै उत्कृष्ट बालउद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुतिसहितका २१० कक्ष राखिएको अध्यक्ष महतले जानकारी दिए ।

महोत्सव विभिन्न सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेपछि सामान खरिद गर्नेको भीड लागेको थियो । महोत्सवमा बालबालिकाका लागि सञ्चालन गरेका विभिन्न खेलौनामा पनि भीड लागेको थियो । बच्चादेखि युवा युवायुवती र सबै वर्गका पारिवारिक वातावरणमा महोत्सव आयोजना गरिएकाले महोत्सवमा आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

दैनिक चर्चित गायक गायिका तथा कलाकारले साङ्गीतिक एवं हास्यव्यङ्ग्य प्रस्तुतिले युवा वर्गको आकर्षण बढाएको आयोजक मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : २४ बजे