बैशाख ४, २०८१ मंगलबार Wed Apr 17 2024

नौ महिनामा दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा करिव दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिका उक्त इन्धन नेपालले आयात गरेको हो ।

सो अवधिमा भारतबाट कूल १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँको एलपीजी ग्यास नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा जति मूल्यको इन्धन नेपाल भित्रिएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालले कूल १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको इन्धन आयात गरेको थियो । अघिल्लो एक वर्षमाभन्दा यसवर्षको पहिलो नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५१ बजे