बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

षट्कोणमा फरक कथा



काठमाडौं । आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘षट्कोण’को बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । सिनेमाको पहिलो पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका मुख्य कलाकार कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै निर्देशक मिलनले षट्कोण युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताए । ‘हामी नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोशिस गरेका छौं । मेरो सिनेमामा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँही राखेको छु’, उनले भने । त्यसैले हामीले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयास गरेकाले सवैको साथको खाँचो रहेको उल्लेख गरे ।

सिनेमाका मुख्य कलाकार कार्मले आफु नेपाली सिनेमामा स्टार बन्न नआएको बताए । त्यसैले पनि आफ्नो रोजाईमा फरक सिनेमा बढि पर्ने सुनाए । ‘मेरोको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि सिनेमा क्षेत्रमा आएको होइन । मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजें त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईंमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन ’, उनले भने ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ०१ बजे