चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

जनकपुर उपमहानगरपालिका : मेयरमाथि अनियमितताको आरोप, अधिकांश प्रतिबद्धता अधुरै



काठमाडौं । ०७४ को स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार लालकिशोर साहले जनकपुर उपमहानगरपालिकालाई ‘स्मार्ट जनकपुर’ बनाउने बाचा गरेका थिए । २६ बुँदे प्रतिबद्धता व्यक्त गर्दै साहले जनकपुरको फोहोरमैला व्यवस्थापनको स्थायी समाधान गर्न अन्तर्राष्ट्रिय स्तरको स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्ने, जीर्ण जनकपुरको व्यवस्थापन, धार्मिक सरोवरहरूको सौन्दर्यीकरण तथा संरक्षणमा विशेष ध्यान दिनेजस्ता प्रतिबद्धता जनाएका थिए ।

त्यही बाचामा विश्वास गरेर जनकपुरका मतदाताले साहलाई मेयरमा विजयी गराए । तर, कार्यकालको पाँच वर्ष पूरा हुनै लाग्दा धेरै काम भएनन् । बरु मेयर साह विवादित बन्नुका साथै आलोचनाको पात्र बने ।

बिर्सेका बाचा

आकर्षक नारा, बाचा र मधेस आन्दोलनको रापमा जनकपुरधामका मतदाताले २१ हजार नौ सय तीन मत दिएर साहलाई मेयरमा निर्वाचित गराएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार बनेका साहले कांग्रेसका मनोजकुमार साहलाई १० हजार सात सय ३९ मतान्तरले पराजित गरे । उनले आफूले चुनावमा गरेका बाचा र प्रतिबद्धताको फेहरिस्त उपमहानगरको पहिलो आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेका थिए ।

०७४ को स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार लालकिशोर साहले जनकपुर उपमहानगरपालिकालाई ‘स्मार्ट जनकपुर’ बनाउने बाचा गरेका थिए । जसमा फोहोरमैला व्यवस्थापनदेखि धार्मिक सरोवरहरूको सौन्दर्यीकरणसम्म थिए । कार्यकालको पाँच वर्ष पूरा हुनै लाग्दा धेरै काम भएनन् । बरु, मेयर साह विवादित बन्नुका साथै आलोचनाको पात्र बने

नीति तथा कार्यक्रममा लेखिएको थियो, ‘स्मार्ट सिटीको अवधारणा अवलम्बन गरिनेछ । प्लास्टिकजन्य वस्तुको प्रयोग निषेध गरी माटाका भाँडा, कागज र कपडाको झोला तयारीमा अनुदान दिइनेछ । सूचना प्रविधिमा अधारित प्रशासन सञ्चालन गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवद्र्धन गरिनेछ । लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । कृषि क्षेत्रको आधुनिकीकरण तथा विकासलाई प्राथमिकता दिइनेछ ।’ तर, पाँच वर्षमा केही स–साना काम भए पनि मुख्य प्रतिबद्धता कागजमै सीमित रहे ।

फोहोरमाथिको राजनीति

जनकपुरका बासिन्दाले फोहोर व्यवस्थापनलाई सबैभन्दा ठूलो समस्याका रूपमा झेलिरहेका छन् । फोहोरमैला व्यवस्थापनको प्रतिबद्धताले नै साहलाई मेयर बनाउन भूमिका खेल्यो । तर, चुनाव जितेपछि बाचा बिर्सेर साहले फोहोरमाथि राजनीति गरेको आरोप लाग्ने गरेको छ । उपमहानगरले जनप्रतिनिधि त पाए, तर फोहोरबाट मुक्ति पाएनन् । जनकपुर सहर फोहोरमैला व्यवस्थापन हुन नसक्दा दुर्गन्धित छ ।

मेयरले फोहोर व्यवस्थापनमा चासो नदेखाएको मतदाता मात्र होइन जनप्रतिनिधिकै गुनासो छ । ल्यान्डफिल साइट बनाउने जग्गामा फोहोर राख्न जाँदा विरोध भयो, तर समाधानका लागि मेयरले पहल नै नगरेको उपमेयर रिताकुमारी मिश्रको आरोप छ । फोहोर व्यवस्थापनको स्थायी समाधान गर्न अन्तर्राष्ट्रिय स्तरको ल्यान्डफिल साइट निर्माण गर्ने प्रतिबद्धता गरे पनि त्यसका लागि कुनै प्रयास नगरेको मेयर साहमाथि आरोप लागेको छ ।

वडाध्यक्षकै नेतृत्वमा मेयरको घरअगाडि फोहोर

फोहोरमैला व्यवस्थापनमा मेयरले चासो नदिएको र समस्या जस्ताको–तस्तै रहेको भन्दै उपमहानगरपालिकाका वडाध्यक्षले मेयर साहको घरअगाडि नै फोहोर थुपारिदिए । वडाध्यक्षहरूको नेतृत्वमा युवाको टोलीले मेयर साहको घरअगाडि फोहोर थुपारेर सांकेतिक रूपमा विरोध जनाएका हुन् । वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले आफैँ ट्र्याक्टर चलाएर प्रमुख साहको घरसम्म फोहोर पु¥याएका थिए । फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्र्याक्टरसम्म उपलब्ध नगराएकाले विरोधस्वरूप यस्तो कार्यक्रम गर्नुपरेको वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताएका थिए । पाँचवर्षे कार्यकालभर मेयर र धेरै वडाध्यक्षको सम्बन्ध राम्रो हुन सकेन । मेयर भ्रष्टाचारमा लिप्त रहेको उनकै पार्टीका वडाध्यक्षले सार्वजनिक रूपमै आरोप लगाए । कैयौँपटक वडाध्यक्षको समूहले कार्यालयमै नाराबाजी र धर्नासमेत दिए ।

फोहोर व्यवस्थापनमा आएको रकम पनि फिर्ता

मधेस प्रदेशको राजधानी सहरमा अवस्थित जानकी मन्दिरको पछाडिपट्टि केही खाली जग्गा छ । वरिपरि घर छन् । मन्दिरबाट सडक छिचोल्दै दशरथ तलाउ जाने बाटो फोहोरले ढाकेको छ । खाली जमिनवरिपरि फोहोर फालिन्छ । बाटो दुर्गन्धित छ । श्रद्धालु भक्तजन नाक खुम्च्याउँदै मन्दिर छिर्नुपर्छ । वर्षौँदेखि यही क्रम चलिरहेको छ । टोलमा फोहोर उठाउने गाडी पनि विरलै पुग्छन् । टोलका बासिन्दा गुनासो गर्दागर्दै थाकिसकेका छन् । टोलका बासिन्दाले मेयर साह र अन्य जनप्रतिनिधिलाई धेरैपटक फोहोर व्यवस्थापनका लागि अनुरोध गरे, तर कुनै सुनुवाइ भएन ।

जनकपुरको रंगभूमि मैदान (बाह्रबिघा) मा पनि यस्तै फोहोर छ । प्रादेशिक अस्पताल, जनकपुरको पश्चिमपट्टिको बाटो फोहोरकै कारणले बन्द छ । उपमहानगरपालिकाको गेस्टहाउस पनि डम्पिङ साइटमा परिणत भएको छ ।

जनकपुरमा फोहोर व्यवस्थापनका लागि एकीकृत सहरी विकास परियोजनाअन्तर्गत ल्यान्डफिल साइट निर्माण गर्न एसियाली विकास बैंक (एडिबी) ले ४८ करोड रुपैयाँ ऋण सहयोग गरेको थियो । तर, उपमहानगरपालिकाले चासो नदिँदा ऋण रकम फिर्ता गयो ।

ल्यान्डफिल साइट निर्माणका लागि उपमहानगरले गुठी संस्थानसँग वडा नम्बर १८ मा १२ बिघा १० कट्ठा १६ धुर जग्गा ३० वर्षका लागि लिजमा लिएको थियो । उपमहानगरकी उपमेयर रिताकुमारी मिश्रका अनुसार स्थानीयको अवरोधका कारण उक्त जमिनमा ल्यान्डफिल साइट बन्न सकेन ।

२५ वटै वडामा सरसफाइका लागि उपमहानगरले ६ वटा ट्र्याक्टर भाडामा लिएको छ । चारवटा टिपर, एउटा जेसिबी, एउटा बु्रमर र केही साना गाडी पनि प्रयोगमा छन् । एक सय ६ जना सफाइ कर्मचारी छन् । तैपनि नगरभित्र फोहोरको समस्या उस्तै छ । तर, मेयर साहले भने स्रोत–साधनको अभावमा नगरको फोहोर सफा गर्न नसकेको दाबी गर्दै आएका छन् ।

के–के भए राम्रा काम ?

साह नेतृत्वको उपमहानगरले पाँच वर्षमा प्रतिबद्धताअनुसार काम गर्न नसकेको भनेर सर्वत्र आलोचना भइरहेको छ ।
तर, उपमहानगरले भने यो अवधिमा उल्लेख्य काम गरेको सूची सार्वजनिक गरेको छ । उपमहानगरभित्र एकीकृत सहरी विकास परियोजना, सहरी विकास तथा भवन कार्यालय, ६ लेन सडक र हुलाकी मार्गअन्तर्गत निर्माण भएको सडकलाई उपमहानगरपालिकाले आफ्नो उपलब्धि ठानेको छ ।

नगरमा सयवटा मास्टर लाइट र सयवटा स्मार्ट लाइट जडान गरिएको, ११ वटा वडा कार्यालय भवन निर्माण तथा नौवटाको मर्मतसम्भार गरिएको उपमहानगरको उपलब्धिमा देखाइएको छ । विभिन्न विद्यालयमा दुई कोठाका ३२ वटा भवन, १७ वटा शौचालय र चार कोठामा तीनवटा भवन निर्माण गरेको पनि उल्लेख छ ।

अढाइ किलोमिटर कृषि विद्युतीकरण र १० वटा डिलक्स शौचालय निर्माण भएको उपलब्धिमा समावेश छ । यसैगरी, उपमहानगरले ३६ किलोमिटर पिसिसी–आरसिसी सडक निर्माण गरेको, ढकनसहितको २० किलोमिटर नाला बनाएको र ५० किलोमिटर सडक ग्राभेल गरेको, जनकपुर–ढल्केवर सडखण्डमा सहिदद्वार निर्माण गरेको जस्ता कामलाई उपलब्धिका रूपमा भनेको छ ।

प्रवेशद्वारमा भ्रष्टाचारको गन्ध

जनकपुर उपमहानगरले जनकपुर–ढल्केवर सडकखण्डमा मधेस आन्दोलनका सहिदको सम्मानमा सहिदद्वार निर्माण गरेको छ । तर, यस्तो द्वार बनाउँदा पनि अनियमितता भएको आरोप लागेको छ । तीनवटा पिलर राखेर बनाइएको ३१ फिट अग्लो द्वारमा पछिल्लो मधेस आन्दोलनका सहिदको अर्धकदको प्रतिमा र सबैभन्दा माथि भगवान् रामले धनुष लिएको प्रतिमा छ । तर, महालेखापरीक्षकको प्रतिवेदनले सहिदद्वार निर्माणको टेन्डर प्रक्रियामा अनियमितता भएको उल्लेख छ । ०७६ माघ १० मा उपमहानगरले ३० दिन म्याद दिएर टेन्डर आह्वान गरेकोमा रवीन्द्र कन्स्ट्रक्सन प्रालिको मात्रै प्रस्ताव परेको थियो । उसको अनुभवसम्बन्धी कागजात नक्कली प्रमाणित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो ।

त्यसपछि लगत्तै १५ दिनको म्याद दिएर टेन्डर आह्वान गरेकोमा गौरी–पार्वती जेभीको मात्र प्रस्ताव परेको थियो । कुल चार करोड २८ लाख ७० हजारको लागत अनुमान गरिएकोमा चार करोड आठ लाख रुपैयाँमा प्रतिस्पर्धाविना ठेक्का दिइएकोमा महालेखाले प्रश्न उठाएको छ ।

बेरुजुमा सबैभन्दा कमजोर

नगरका अन्य आयोजनामा पनि महालेखाको प्रतिवेदनले अनियमितता औँल्याएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ३५ करोड ५७ लाख ३२ हजार, ०७५/७६ मा कर्मचारी अभाव भन्दै उपमहानगरले लेखापरीक्षण नै गराएन भने ०७४/७५ मा २५ करोड ८४ लाख ७७ हजार बेरुजु देखिएको थियो ।

अहिले बेरुजुमा जनकपुर उपमहानगरले सबैलाई उछिनेको छ । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै जनकपुरधामकै बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जनकपुर उपमहानगरको बेरुजु १२.७८ प्रतिशत देखिएको छ । दुई अर्ब ७८ करोड ३६ लाख लेखापरीक्षण गर्दा उपमहानगरमा ३५ करोड ५७ लाख ३२ हजार रकम बेरुजु देखिएको छ ।

मेयरकै कार्यकक्षमा पत्रकारमाथि आक्रमण

जनकपुर उपमहानगरपालिकाका मेयर साहको कार्यालयमा गत पुसमा एक दर्जन पत्रकारमाथि कुटपिट भयो । मेयर साहकै नेतृत्वमा पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रसहितका पत्रकारमाथि आक्रमण गरिएको भयो । मेयर र उनका सहयोगीले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेको पत्रकार महासंघ धनुषाले बताएको थियो । जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको उजुरीबारे पत्रकारले सोध्दा साहका सहयोगी पत्रकारमाथि जाइलागेका थिए ।

कामै नगर्ने मेयरलाई सम्मानको ओइरो !

मेयर लालकिशोर साहमाथि कामै नगरी सम्मानित हुँदै आएको आरोप लाग्ने गरेको छ । उपमहानगरमा कुनै विकासै नगरी उनलाई पटक–पटक सम्मान दिने गरिएको छ । कामै नगरी बारम्बार सम्मानित भइरहनुले मेयर साहलाई झनै सजिलो भएको नागरिक अगुवाले बताउने गरेका छन् । उपमहानगरमा जताततै फोहोरको डंगुर, अव्यवस्थित नाला÷सडक, सहरभित्र धुवाँ÷धुलो र अनियन्त्रित चोपाया सडकमै सुतिरहँदा पनि मेयर साहलाई सम्मान पाउन भ्याइ–नभ्याइ भएको जनकपुरका बासिन्दाले टिप्पणी गर्ने गरेका छन् ।

बजेट, वर्गीकरण र विवाद

जनकपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि एक अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो । बजेटमा उपमहानगरले चालूतर्फ ६२.२३ प्रतिशत अर्थात् ९५ करोड ७५ लाख ६१ हजार र पुँजीगततर्फ ३७.७७ प्रतिशत अर्थात् ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको हो । बजेटमा चालू खर्च बढी हुनुले विकास निर्माण ओझेलमा परेको स्पष्ट हुने अर्थविद् बताउँछन् । बजेटमा पदाधिकारीको बैठक भत्तामा एक करोड १० लाख, पदाधिकारीको अन्य सुविधाका लागि दुई करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

नगर सभामा बजेट प्रस्तुत गर्दा आयव्यय विवरण प्रस्तुत नगरेको भन्दै जनप्रतिनिधिले विरोध गरेका थिए । जसले गर्दा बजेट विवादित बनेको थियो । नगरपालिकाले चालू आर्थिक वर्षको आयव्यय प्रस्तुत नगरी बजेट सभा सम्पन्न गरेको भन्दै सभाहलभित्रै नाराबाजी भएको थियो ।

समग्रमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहको कार्यकाल कमजोर देखिन्छ । उनीमाथि अनियमितताको आरोप पनि लागेको छ । उनकै पार्टीका वडाध्यक्षले समेत साहमाथि बारम्बार भ्रष्टाचारको आरोप लगाए पनि छानबिन हुन सकेको छैन । अहिले उनी लोकतान्त्रिक समाजवादीमा नगएर जनता समाजवादी पार्टीमै बसेका छन् । जसपाले फेरि पनि मेयरको उम्मेदवार बनाउने सर्तमा उनी पहिलेका सहकर्मी छाड्न तयार भएको बताइन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : २९ बजे