चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

आविष्कार केन्द्रलाई बेलायतबाट २० लाखभन्दा बढी सहयोग



राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउन्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भएको छ । कोषवृद्धिका लागि युरोप भ्रमणका क्रममा हाल बेलायत रहेका केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई बेलायतस्थित विभिन्न व्यक्ति तथा संस्थाबाट उक्त रकम सहयोग भएको हो ।

युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा बिज एजुकेशनले गरेको अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउन्ड प्रदान गरेका हुन् । सोही दिन बिज एजुकेशन र नेपाली समाज प्रिस्टनले महारानी रेस्टुरेन्ट प्रिस्टनमा गरेको अन्तरक्रियामा तीन हजार पाउन्ड संकलन भएको थियो ।

कार्यक्रममा नेपाली समाज प्रिस्टनले ६ सय एक पाउन्ड र बिज एजुकेशनका निर्देशक हरि कार्कीले २ हजार ३ सय ९९ पाउन्ड प्रदान गरेका थिए ।

यूक्लानमा भएको अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा स्वागत गर्न पाउँदा हर्षित र गौरवान्वित भएको बताए । प्राध्यापक ग्राहामले विश्वविद्यालयले पनि अन्वेषण, अनुसन्धान र इन्जिनियरिङमा विज्ञता हाँसिल गरेको जनाउँदै आविष्कार केन्द्रसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । पुनले यूक्लानको इनोभेसन एन्ड रिसर्च सेन्टर अवलोकन गरेपछि थप उत्साहित भएको बताएका थिए ।

पुनले कार्यक्रम आयोजक बिज एजुकेशनलाई धन्यवाद दिँदै आविष्कार केन्द्रको आवश्यकता र औचित्यबारे प्रस्ट पारेका थिए । उनले आफ्नो प्रोजेक्टमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अरुबाट पनि सहयोगको अपेक्षा राखे ।

कार्यक्रममा नेपाली वैज्ञानिक पुनसँग यूक्लान अध्ययनरत नेपाली विद्यार्थीले फर्किएर केन्द्रलाई के योगदान गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । प्रतिउत्तरमा पुनले केन्द्र क्षमतावान विद्यार्थीको ज्ञान र सीप सदुपयोग गर्न लालयित रहेको बताए । पुनले नेपालमा अनुसन्धान तथा आविष्कारको संस्कार र जग जसरी भए पनि बसाल्नु पर्ने आवश्यकतामा जोड दिए ।

आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेले केन्द्रको प्रोजेक्टबारे थप प्रस्ट्याउँदै आयोजक बिज एजुकेशनका निर्देशक हरि कार्की, यूक्लान नेपाली सोसाइटी, नेपाली समाज प्रिस्टोनप्रति आभार व्यक्त गरे । उनले महावीर पुनको युरोप भ्रमण कोषवृद्धि तथा विश्वविद्यालय र विज्ञहरुसँग सहकार्य गर्नका लागि भएको जनाउँदै प्रवासको नेपाली समुदायलाई आर्थिक सहयोग गर्न पनि आग्रह गरे ।

बिज एजुकेशनका निर्देशक कार्कीले यूक्लान विश्वविद्यालय, महावीर पुनलगायत सबै सहयोगीलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । करिब अढाइ महिना अवधिमा युरोपका १७ मुलुक पुग्ने योजना रहेको पुनले जनाएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : २४ बजे