बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

बेलायतमा रथ तानेर पहिलोपटक बिस्का जात्रा



बेलायतमा पहिलोपटक उल्लासका साथ बिस्का जात्रा मनाइएको छ । पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका ८ सयभन्दा बढी नेपालीको सहभागिता रह्यो । पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा पनि गरिएको हो ।

जात्रामा गुथीका स्वयंसेवकहरुद्वारा लन्डनमै निर्माण गरिएका भैरव र भद्रकालीको रथ तानिएको थियो । सुरुमा परम्परागत शैलीमा रथ तानेर लिंगो ठड्याइएको थियो भने पछि फेरि रथ तान्दै लिंगो ढालेर रथ जुधाइएको थियो ।

रथ तानिएपछि कम्युनिटी हलमा आयोजित नेवा मुना, ने सं ११४२ लाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले नेपालबाट यति टाढा आफ्नो देशको, क्षेत्रको, कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्नु उदाहरणीय भएको भन्दै बधाइ दिए । कार्यक्रमले नेपालको सांस्कृतिक महत्त्व एवं एकताको भावना प्रदर्शन गरेको राजदूतले बताए ।

साउथ इस्ट लन्डन र वेस्ट लन्डनको समूहले एक एकवटा रथ बनाएको थियो । रथ बनाउन तीन हप्ता अवधिमा झण्डै २ सय घण्टा बढी समय र करिब ४ हजार पाउन्ड खर्च भएको आयोजक पासा पुचः गुथी यूकेका अध्यक्ष ओजेश सिंहले बताए ।

‘रथ बनाउन निकै चुनौति थियो । भक्तपुरको जस्तो रथ नभए पनि त्यहाँको जस्तै बनाउने प्रयास गर्यौं’, सिंहले भने, ‘बेलायतमा पनि नेवा कला संस्कृति र परम्पराको जगेर्ना एवं अपनत्वको भावना जगाइराख्न बिस्का जात्रा गरिएको हो ।’

अध्यक्ष सिंहले गुथी बेलायतको च्यारिटी संस्था भएको जनाउंदै यसले धेरै कल्याणकारी काम गरेको र कोभिड महामारीका बेला एकसय वटा कन्सन्ट्रेटर नेपाल पठाएको जानकारी दिए ।

बेलायतमा नेवाः कला संस्कृति, रितिथिति, परम्परा भेषभूषा, बाजागाजा, पर्व र जात्राहरु जगेर्ना गर्ने गुथिको उद्देश्य रहेको बिस्का जात्रा लन्डन व्यवस्थापक एवं पासा पुचः गुथी यूकेका उपाध्यक्ष सुशील प्रजापतिले बताए । प्रजापतिले भक्तपुरमा बिस्का जात्रामा हुलदंगा, ढुंगा हानाहान भए पनि लन्डनमा शान्तिपूर्ण रुपमा जात्रा गरिएको जनाउँदै भक्तपुरले पनि बेलायतबाट सन्देश लिओस् भन्ने कामना गरे । नेवा मुनाको संयोजन पासा पुच गुथी साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा भैरव नाच, हुलां प्याखं, महिला तथा बच्चाहरुले समेत परम्परागत धिमे बाजा, ढां बाजा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो ।

नयाँ वर्षको आगमनसंगै तान्त्रिक विधिबाट मनाइने परापूर्वकालदेखि चलिआएको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्का (बिस्केट) जात्रा लन्डनमा पनि निरन्तर गर्ने गुथीको योजना छ ।

बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रा नयां वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : २२ बजे