६ आश्विन २०८३, मंगलबार Tue Sep 22 2026

घरभित्रै के–के गर्नुपर्नेछ गरुन् तर सामाजिक सञ्जालमा फोटो नहालुन् : प्रमुख निर्वाचन आयुक्त



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बताएका छन्।

बिहीबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा थपलियाले मंसिर २ गतेदेखि मंसिर ४ गतेसम्म निर्वाचनको प्रचारप्रसार गर्न नपाइने बताए।

‘यहि दुई दिनमा कुनै उम्मेदवारको जन्मदिन वा अन्य पूजा लगाएर भोज गरेमा के हुन्छ ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा थपलियाले घरभित्रका सामान्य रूपमा जन्मदिन वा पुजाआजा गर्न पाए पनि बाहिर निस्किएर यस्ता गतिविधि गर्न नपाइने बताए।

उनले भनेका छन्, ‘कुनै उम्मेदवारको भोलि नै जन्मदिन परेको र धुमधामले मनाउँछु भनेको अवस्थामा बाहिर निस्केर यस्ता गतिविधि गर्न पाइएन, घरभित्रको कुरालाई आयोगले त्यति धेरै हेर्न पनि हुदैन होला।’
उनले अबको तीन र चार दिन कुनै पनि उम्मेदवारको जन्मदिन नपरोस् भन्ने कामनासमेत गरेका छन्।

‘उम्मेदवार, राजनीतिक दल र निर्वाचनमा प्रभाव पार्ने व्यक्तिहरू सकेसम्म यो तीन र चार दिनमा जन्मिएका नपरुन् भन्ने अपेक्षा छ,’ उनले थपे, ‘परिहाले भने पनि घरभित्रै के–के गर्नुपर्नेछ गरुन् तर सामाजिक सञ्जालमा फोटो नहालुन्।’

मंसिरको २२ गतेसम्म निर्वाचनको सबै मतपरिणामा आउने उनले बताए।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ४७ बजे