१४ भदौ २०८३, आइतबार Sun Aug 30 2026

‘मुख खाली छैन’ फेरि पनि ‘खान’ का लागि किन मुख बाउनु भएको त ?’ – भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध दिएको अभिव्यक्तिमाथी प्रश्न गरेका छन् ।

कञ्चनपुरको चुनावी सभामा शुक्रबार डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने भनिरहेका बेला सभामा उपस्थित नेता कार्यकर्ताले ‘भीम रावल, भीम रावल’ नारा लगाएपछि अध्यक्ष ओलीले भीम रावलको तपाईंहरूलाई कति चिन्ता ? ०४८ सालदेखि खाँदैहुनुहुन्छ, बूढो भइसक्नु भयो‘अरूलाई मौका दिनुपर्दैन ? भन्दै दिइको अभिव्यक्तिप्रति नेता रावलले आफू ६७ वर्ष लागेको मानिसलाई बूढो भन्ने तर आफूचाहिँ ७० वर्ष नाघेर पनि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो भनेर रावलले ओलीलाई प्रश्न गरेका छन।

नेता रावलले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीको अभिव्यक्तिमाथी पाँचवटा प्रश्न गरेका छन् । उनले अध्यक्ष ओलीको अभिव्यक्ति क्रोध, बदला निषेध र द्वेषपूर्ण दुर्भावयुक्त भएको टिप्पणी गरेका छन्।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ। ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ का लागि किन मुख बाउनु भएको त ?’

उनले अगाडि लेखेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बूढो’ भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ?’

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : १५ बजे