कमलबहादुर बोहरा
काठमाडौं । दोलखामा सत्ता गठबन्धनको तर्फबाट संघीय संसद्को लागि माओवादीका गंगा कार्की ‘विश्व’ले टिकट हात पारेका छन् । संघ माओवादीको भाग परेपछि प्रदेशका दुवै क्षेत्र कांग्रेसले हात पारेको हो ।
जसमा प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका युवा नेता तथा पूर्व नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले टिकट पाएका छन् । त्यसैगरी प्रदेश ‘ख’बाट नेपाली कांग्रेसका चर्चित नेता बर्मा लामाले टिकट पाएका छन् ।
लामा दोलखा कांग्रेसमा स्वच्छ छवि, समाजसेवी र इमानदार नेताका रुपमा चिनिन्छन् । उनले दोलखाको प्रदेश ‘ख’बाट टिकट पाउँदा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थीलगायत सर्वसाधारणले खुसी व्यक्त गरेको स्थानीय सम्वाददाताले बताएका छन् ।
अहिलेसम्मको अवस्था हेर्दा दोलखामा गठबन्धन एकदमै कसिलो भएको स्थानीय नेता, कार्यकर्ताको भनाइ छ । गठबन्धन अनुसासित र एकढिक्का भएकाले पनि प्रतिपक्षको लागि दोलखाको निर्वाचन फलामको चिउरा सावित हुने सर्वसाधारणको आँकलन छ ।

