३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकको तलबै ठप्प



काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित हुन सकेन । यसरी गाउँपालिकाको बजेट पारित नहुँदा साउनदेखि कर्मचारी र शिक्षकको तलब ठप्पा भएको छ ।

नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाहले बताएका छन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रक्रिया पुरा गरेर तिहार अगाडि तलब खुवाउने उनको भनाइ छ । ‘बहुमत नपुगेर समयमा नगरसभाको बैठक बस्न सकेको शाहको भनाइ छ । उनी भन्छन, ‘बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’

त्यसैगरी विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकाले बजेट पास हुन सकेको छैन । जसका कारण शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा रोकिएको छ । गाउँपालिका प्रमुख जवाहरलाल यादव भने चारचार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाई नभएको बताएका छन् ।

‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं, तर अब दशैं लगत्तै बस्ने तयारी छ’ उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं ।’ दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता दिने वचनवद्दता प्रकट गरे ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : २६ बजे