२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

एमाले अध्यक्ष र महासचिवलाई बन्दसूची परिवर्तन गरी प्रत्यक्षतर्फ उम्मेदवार छान्ने जिम्मा



काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ।

एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने तय भएको छ। सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

‘समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,’ सचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने।

बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो। उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ।

‘को को उम्मेदवार हुन सक्छ भन्नेमा प्रारम्भिक छलफल भयो। प्रदेश सभामा ३३० सिटमा सम्भावित उम्मेदवारबारे छलफल चलाएका छौ’, गुरुङले भने। प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे भने सचिवालयको अर्को बैठक बसेर टुंगो लगाउने तय भएको छ। यस्तै उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई दिइएको छ।

एमालेमा १० बुँदे सहमतिबाट पार्टीमा सक्रिय भएका नेताहरुलाई ओलीले माफी नमागेसम्म टिकट नदिने शर्त राखेको बताइएको थियो। तर, उक्त विषयमा एमालेका नेताहरुले भने औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ५२ बजे