३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

निर्वाचन आचारसंहिता असोज १२ देखि लागु गर्ने आयोगको तयारी



काठमाडौं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।

आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्। दलका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए। असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताए। आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि उनले बताएका छन्। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ५० बजे