१५ जेष्ठ २०८३, शुक्रबार Fri May 29 2026

प्रहरीलाई धम्काएको आरोपमा युट्युबर मनोज मानव फेरी पक्राउ



काठमाडौं । सप्तरीमा प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै प्रहरीले युट्युबर मनोज मानव भन्ने मनोज महतोलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका २४ घर भई काठमाडौँको किर्तिपुर नगरपालिका २ बस्ने ३८ मानवलाई सोमबार साँझ राजविराज नगरपालिका ५ स्थितबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

प्रवक्ता पुरीका अनुसार सप्तरीको कन्ट्रोल रुममा खटेका प्रहरी जवान आदर्श कुशवाहालाई ल्याण्डलाईन नम्बर १०० मा फोन गरेर आफु स्टार अनलाइन न्युजको पत्रकार रहेको भन्दै थर्काउँदै एसपी वा डिएसपीको नम्बर दिन भन्दै धम्काएको र पछि आफूलाई समेत अपशब्द गालीगलौज गरी अभद्र व्यवहार गरेको भन्दै पक्राउ गरिएको जानकारी दिए ।

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार मानवमाथि यसअघि साइबर ब्युरोमा २०८० कार्तिक २१ गते र माघ १२ गते विद्युतिय कारोबार सम्बन्धी कसूरमा, २०८१ जेठ २८ गते ज्यान सम्बन्धि कसूर, अपहरण तथा शरिर बन्धक सम्बन्धी कसुरमा, पुस २० गते अभद्र व्यवहारमा र २०७४ असोज २२ गते सार्वजनिक अपराधमा पक्राउ तथा कारवाही भएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : २० बजे