काठमाडौं । सामान खरिद गरेपछि बिल प्राप्त गर्नु त सामान्य प्रक्रिया नै हो । तर, ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवले भने बिल मात्र बेच्ने गरेको खुलेको छ ।
वस्तु तथा सेवा बिक्री नगरी बिल मात्र बेच्ने गरेका उनीविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।
विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा देवविरुद्ध बिगो र जरिवाना गरी १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुलउपर गर्न माग गरेर सोमबार अभियोगपत्र दायर भएको हो ।
‘विभागमा उजुरी प्राप्त भएपछि हामीले मंसिर दोस्रो हप्ता देखि यो विषयमा अनुसन्धान गरेका थियौं,’ यस घटनाका अनुसन्धान अधिकृत नवराज अधिकारीले भने,‘बिल दिने र त्यसबापत कमिसने लिएको अवस्थामा भेटिएपछि हामीले थप अनुसन्धान गरेर मुद्दा दायर गरेको हौं ।’

