३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी



ललितपुर, १४ फागुन । अधिवक्ता प्रेमसिंह धामीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका छन् । २०४९ सालदेखि कानुन व्यवसायमा संग्लग्न भई बहस गर्दै आएका धामीले आफूलाई राम अवालेसमेतका व्यक्तिबाट धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार उजुरी दिएका हुन् ।

‘मलाई अपरिचित मानिसहरू कार्यालयमा पठाएर धम्की दिने काम लामै समयदेखि हुँदै आएको थियो, सामान्य होला भनेर चुप बसेको थिएँ, अहिले थप असामान्य गतिविधि हुँदै गए, तसर्थ मैले शान्ति सुरक्षा कायम गरिपाउँ भनी प्रशासनमा निवेदन दिन बाध्य हुनु पर्यो,’ उनले भने ।

यसअघि २०७७ सालको दशैँतिर एक्कासि कार्यालयमा कृष्ण आवालेको नेतृत्वमा श्यामकाजी अवाले, टेकेन्द्र पौडेल, लक्ष्मण पौडेल आएर तैंले हामीलाई चिनेको छैनस्, तँलाई हामी जे पनि गर्न सक्छौं, बुझेर मात्रै कानून व्यवसाय गर्नु भनी धाकधम्की दिएको पनि उनले बताए ।

अधिवक्ता धामीले बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, उपाध्यक्ष श्यामकाजी आवले, भाइराजा अवाले, कृष्ण अवाले,  केदार अवाले, लक्ष्मण पौडेल र टेकेन्द्र पौडेलसमेतबाट धम्की आएको भन्ने उल्लेख गरी प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले शान्ति सुरक्षाका लागि माग भई आएकोले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जानकारी गरिएको जानकारी दिइन् । ‘दिनमा १०–१२ वटा त शान्ति सुरक्षाकै उजुरीहरु आउने गरेको छ, लेनदेनका बिषमा कुरा नमिल्दा, कतिपय मुद्दाका बिषयमा कुरा नमिल्दा पनि यस्ता समस्याहरु निम्तिने गरेका छन्उ,’ उनले भनिन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ५८ बजे