३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

ज्याकेट लगाएको भन्दै प्रिन्सिपलुद्वारा विद्यार्थीमाथि कुटपिट



काठमाडौं । विद्यालय पोसाकको बाहिरपट्टिबाट ज्याकेट लगाएर आएका एक विद्यार्थीलाई प्रिन्सिपलले निर्घात कुटपिट गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका–७ मा रहेको मोडेल गोल्डेन फ्यूचर इङ्गलिस स्कुलका प्रिन्सिपल शम्भु यादवले कक्षा ८ मा अध्ययनरत विद्यार्थी आकाश गुप्तालाई कुटपिट गरेका हुन् ।

चिसो मौसम भएकाले विद्यार्थी गुप्ताले विद्यालयले तोकेको भन्दा फरक ज्याकेट लगाउनु भएको थियो। विद्यालयमा ज्याकेट खोल भनेर दबाब दिएका प्रिन्सिपलले विद्यार्थी गुप्ताले नमानेपछि कुटपिट गरेको आफन्तको दाबी छ। घटना पुस १ गतेको हो । पीडित विद्यार्थी गुप्ताले भने , ‘‘जाडो छ सर ज्याकेट नखोले हुँदैन भनेर भनेको त प्रिन्सिपल सरले मलाई मुक्का हान्नुभयो। ’’

उनका अनुसार विद्यालयमा रहेको कलमा पानी खाइरहेको अवस्थामा प्रिन्सिपल यादवले आएर आउटड्रेस किन लगाएको भन्दै सोधेर एक्कासि कुटपिट गरेका थिए । गुप्ताले भने , ‘‘मैले अरू साथीले पनि ज्याकेट लगाएका छन्, भोलिदेखि अरू कपडा लगाउँछु सर भनेको थिएँ तर मलाई एकाएक हातपात गर्नुभयो। ’’

गुप्ताको आँखा, कान, छाती, हातको औँलालगायतमा चोटपटक लागेको छ। विद्यालय पोसाक पनि च्यातिएको छ। आकाशका ठुलो बुवा अर्जुनप्रसाद गुप्ताले पटक(पटक प्रिन्सिपल यादवले आकाशलाई कुटपिट गर्दै आएको बताए ।

उनले पटक(पटक कुटपिट गरेपछि आफूहरू कानुनी उपचारमा जाने बताए । उनले भने ‘‘गाउँपालिकाको शिक्षा शाखामा उजुरी दिएका छौँ, प्रहरीकोमा पनि उजुरी दिन्छौँ।’’गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेले विद्यार्थीमाथि कुटपिट भएकाबारे उजुरी आएको बताउनुभयो। उहाँले यस विषयमा प्रिन्सिपललाई स्पष्टीकरण सोधेको जानकारी दिए । उनले स्पष्टीकरण आएपछि कारबाही प्रक्रिया अघि बढ्ने बताए ।

स्कुलका प्रिन्सिपल यादवले आउटड्रेस लगाएर आएपछि सोधपुछ गर्ने क्रममा आफूमाथि हातपात गरेपछि धकेल्दा चोट लागेको बताए । ‘‘मैले विद्यार्थीलाई कुटपिट गर्ने कुरा हुँदैन, ममाथि जाइलागेपछि धकेल्ने क्रममा मेरो हातको घडीले छाला कोतारिएको हो’’, उनले भने , ‘‘अन्यथा अरू केही भएको छैन।’’

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ३४ बजे