२७ असार २०८३, शनिबार Sun Jul 12 2026

उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा



उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन सुरु गरेका छन् ।

नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठका अनुसार यो नाच नेवार समुदाय बसोबास गर्ने सबै क्षेत्रका आआफ्ना गाउँमा साउन कृष्ण अष्टमीसम्म प्रदर्शन गरिन्छ ।उनका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, जोगिदह, चौदण्डीगढीको बेल्टार, बेलका नगरपालिकाको रामपुर लालबजार र कटारी नगरपालिकाको कटारी बजारमा लाखे नाच प्रदर्शन गरिएको छ ।उक्त समुदायका घरमा यसअघि मृत्यु भएका व्यक्तिको संझनामा घरबाट लाखे नाच सुरु गर्ने गरिएको नेवा पुचका अध्यक्ष हरि श्रेष्ठले बताए ।पहाडी क्षेत्रको खोटाङ, भोजपुर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर र भक्तपुरबाट बसाइँसराई गरेर कटारी, गाईघाट, चौदण्डीगढीको बेल्टार क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले यो पर्वलाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  २ : ३२ बजे