४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

मेवा खेतीबाट लाखौँ कमाउदैँ जनकलाल तामाङ



रामेछाप।कोरियाबाट फर्केका खाँडादेवी गाउँपालिका वडा नं ८ गागलका जनकलाल तामाङले गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

उनको मेवा खेतीले जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन् । बजारमा मेवाको मूल्य प्रतिकेजी एक सयभन्दा माथि नै छ ।

तामाङले भने, ‘ कोरोना महामारीको असर परेपछि स्वदेश फर्किएँ । गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरेँ । मेवा लगाएँ डेढ दुई वर्ष भित्रनै उत्पादन दिन थाल्यो ।’ चकलेट र जुस बनाउने उद्योग गाउँमै स्थापना गर्ने तयारी उनको छ । ‘चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु,’ उनले भने, ‘थकाइ मर्दिनँ, आफ्नै माटोमा केही गरेर देखाउँछु ।’

तामाङको मेवा खेती गरिएको ठाउँ सदरमुकामबाट झण्डै २५ किलोमिटर पश्चिममा पर्दछ । चकमन्न गाउँको बीचमा पर्ने कालोमाले टोलमा उनले दाजु र भाइको समेत गरी ३८ रोपनी जग्गामा मेवा खेती गरेका छन् । उनले भने, ‘मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने तयारी गरेको छु ।’

दुई वर्षअघि उनले पाँच हजार मेवाको बिरुवा लगाएका थिए । ‘विभिन्न रोग, कीरा लगायतको सङ्क्रमणले झण्डै एक हजार दुई सय बिरुवा खेर गए । फार्ममा तीन हजार दुई सय बोट हुर्केका छन्,’ उनले भने ।

उनका अनुसार बिरुवा खरिददेखि हालसम्म प्रति बोट आठ सय जति खर्च भएको छ । एउटै मेवा पाँच केजीसम्मको फल्ने गरेको उनले बताए । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने पनि उनको अनुभव छ । उनको बगैँचामा ताइवानी हाइब्रिड मेवा फस्टाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : १३ बजे