३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

गाउँपालिकाद्वारा सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज वितरण



काठमाडौं । आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ ।

आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सुत्केरी र बच्चाको स्वास्थ्य सुरक्षा सुनिश्चिताका लागि गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी आमा–स्वास्थ्य, सरसफाइका साथै पोषिलो खाना’ कार्यक्रम बनाएरै कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए।

गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिए । उनका अनुसार विभिन्न वडाका गरी दुई सयभन्दा बढी सुत्केरीलाई उक्त प्याकेज वितरण गरिसकिएको छ । बाँकी रहेकालाई समेत वितरण गर्ने कार्यक्रम जारी राखिएको छ ।

खाद्य प्याकेजमा स्थानीय स्तरमा पाइने घीउ, सिमी, अण्डा, चना, मटर लगायतका खानेकुरा, साबुनसहितका नौ प्रकारका सामग्रीसहितको झोला वितरण भइरहेको आङ्बुहाङले बताए । उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिन आगामी आर्थिक वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरिएको छ ।

आगामी आवदेखि सुत्केरी भएको एक महिनाभित्रै सुत्केरी महिलालाई उक्त प्याकेज पु¥याउने योजना छ । उक्त प्याकेज वितरणका लागि जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीसमेत खट्दै आएका छन् । सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्शसमेत दिने गरिएको बताइएको छ । सकेसम्म घर–घरमै पुग्ने र अनुकूल नभए टोल–टोलमा भेला गराई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : ३८ बजे